राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमा अम्प्लिफाईचेन्जको सहयोगमा संचालित Scope for SRHR परियोजना अन्तर्गत साझेदार संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ (FWDN) को आयोजनामा मिति २०८३ श्रावण २ देखि ६ गतेसम्म जनकपुरधाममा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR), व्यापक यौनिकता शिक्षा (CSE), महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन (MHM) र व्यक्तिगत सुरक्षासम्बन्धी पाँच दिने दौतरी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका - ४ स्थित श्री मण्डल समाज सेवा (मण्डल कुट्टी) मा सञ्चालन गरिएको दौतरी शिक्षा कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त ८ जना छात्र तथा ६ जना छात्रा सहित १४ जना विधार्थीहरुको सहभागिता रहेको थियो । सम्बन्धित अभिभावक तथा विद्यालयसँग समन्वय गरेर सम्भावित सहभागी पहिचान र परिचालन पनि गरी सहभागिता गरिएको थियो ।

दौतरी शिक्षक राजेश नायक र शम्भु साहले अपाङ्गता समावेशी यौन तथा प्रजनन् शिक्षा सम्बन्धि ५ बिभिन्न सत्रहरूमा सहजीकरण गर्नुभएको थियो । तालिमको सत्रहरूमा यौन तथा प्रजनन् शिक्षा, अपाङ्गता, शरीरमाथिको अधिकार, ‘मेरो शरीर, मेरो अधिकार’, किशोरावस्था, प्रजनन अंग तथा तिनका कार्य, व्यक्तिगत सरसफाइ, महिनावारी तथा महिनावारी स्वच्छता, गर्भावस्था, परिवार नियोजन र गर्भनिरोधक साधनबारे सहजीकरण जानकारी गरिएको थियो । सहभागीहरुले व्यक्तिगत सुरक्षा, सम्मानजनक व्यवहार, सूचित निर्णय, उपलब्ध स्वास्थ्य सेवाबारे समुह छलफल र अनुभव आदानप्रदान गरेका थिए । दृष्टिविहीन विद्यार्थीहरूलाई सहभागी गराउन अभिभावक/हेरचाहकर्ताको सहयोगको आवश्यकता, दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै विद्यालय नहुँदा सहभागीलाई कार्यक्रम स्थलमा ल्याउनमा चुनौती देखिएको थियो ।
