
राष्ट्रिय बहिरा महासङ्घ नेपालले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सहयोगमा नेपाल पर्यटन बोर्डद्वारा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत रुपन्देहीमा मिति २०८३ असोज १ गतेदेखि १५ गतेसम्म ३२ जना बहिरा युवाहरुलाई हाउसकिपिङ तालिम सम्पन्न भएको थियो । बहिरा व्यक्तिहरूको व्यावसायिक सीप विकास गर्नु, उनीहरूका लागि सम्मानजनक रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु र पर्यटन क्षेत्रमा बहिरा समुदायको समावेशी सहभागिता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा पूर्व संविधानसभा सदस्य इस्तियाक अहमद खाँले आगामी दिनमा नगरपालिकामार्फत बजेट विनियोजन गरी बहिरा तथा पछाडि पारिएका समुदायका व्यक्तिहरूका लागि यस्ता सीपमूलक तालिम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दिगो पर्यटन परियोजनाका कार्यक्रम व्यवस्थापक धर्मराज दवाडीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले आफ्नो परिवारको आर्थिक उन्नतिमा योगदान पुर्याउने अपेक्षा गरिएको बताउदै अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउन परियोजनाले काम गरिरहेको बताउनुभएको थियो ।

तालिमका प्रमुख प्रशिक्षक अजय गौतम र सहायक प्रशिक्षक किरण ढुङ्गानाले सिकाइप्रति सहभागीहरूको लगनशीलता र लगाबको प्रशंसा गर्दै बहिरा युवाहरूलाई सीप सिकाउन अपेक्षा गरेभन्दा सहज अनुभव भएको बताउनुभयो । सिद्धार्थ होटल संघ, भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले तालिम सहभागीहरूलाई रोजगारीका अवसरसँग जोड्न आफूले विशेष पहल गर्ने बताउनुभयो । तालिममा सहभागीहरूलाई होटलमा कोठा सरसफाइ गर्ने विधि, हाउसकिपिङसम्बन्धी व्यावसायिक ज्ञान, कार्यस्थलमा अपनाउनुपर्ने व्यवहार तथा सम्बन्धित सीपबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।