
राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा एम्प्लिफाई चेन्जको सहयोगमा “ यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारमाका बिषयमा सदस्य संस्थाहरु संग समन्वय बैठक” मिति २०८३ असोज २३ गते काठमाण्डौमा सम्पन्न भएको थियो । अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) का क्षेत्रमा काम गर्ने संघिय स्तरका सदस्य संस्थाहरू (OPDs) बीच सहकार्यका सम्भावनाहरू, सञ्जाल सुदृढीकरण तथा आगामी कार्यदिशाबारे छलफल गर्ने उदेश्यका साथ सम्पन्न बैठकमा करिब २८ जनाको सहभागिता रहेको थियो । साथै, अपाङ्गता भएका व्यक्तिहरूको SRHR कार्यान्वयनमा OPDs को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै OPDs र SRHR क्षेत्रमा सदस्य संस्थाबीच सहकार्यमाथि छलफल भएको थियो । विशेषगरी यौन हिंसा, मिथक, अभिव्यक्ति स्वतन्त्रताको अभाव र जटिल अपाङ्गतामा देखिने चुनौतीहरू समाधान गर्न नीतिगत तथा व्यवहारिक संयुक्त प्रयास अपरिहार्य रहेको बिषयमा छलफल भएको थियो । बैठकमा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, करुणा फाउन्डेसन नेपाल, एक्सेस प्लानेट अर्गनाइजेसन, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ, नेपाल नेत्रहिन संघ, नेपाल भकभके संघ, कोशिश नेपाल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल हेमोफिलिया सोसाईटी, प्रयत्न नेपाल, नेत्रहीन महिला संघ नेपाल, नेपाल दृष्टिविहीन कल्याण संघ, नेपाल अपाङ्ग मानव अधिकार केन्द्र र अटिज्म केयर नेपाल समाजका संघिय स्तरका सदस्य संस्थाहरु बाट सक्रिय सहभागिता रहेको थियो ।

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका महासचिव रमा ढकालले SRHR सम्बन्धी कार्यक्रमहरू अभिभावक, परिवार, समुदाय तथा सेवा प्रदायकलाई लक्षित गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले नीतिगत संशोधनका लागि नियमित रूपमा संयुक्त वकालत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त बैठकबाट SRHR का सवालमा कार्य गर्ने संघिय स्तरका सदस्य संस्थाहरुले साझा रणनीति बनाएर काम गर्नु पर्ने, आ-आफ्ना कार्यक्रमहरुको पुनरावलोकन गर्ने, पहुँचमा सामग्री निर्माण गर्ने, स्वास्थ्य संस्थामा भौतिक पहुँच अभाव, सेवा प्रदायकको सकारात्मक व्यवहार हुन नसक्नु, सहायक सामाग्रीको कमी तथा अपाङ्गतामैत्री वातावरणको अभावलाई आगामी दिनमा सहकार्य गर्ने बताएको थियो ।