NDFN Logo

संसद बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषा दोभाषेको प्रबन्ध

नेपालको संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरूको प्रत्यक्ष प्रसारणमा मिति २०८३ वैशाख २८ गतेदेखि नेपाली साङ्केतिक भाषा दोभाषे सेवा सुरु गरिएको छ । यस ऐतिहासिक उपलब्धिले बहिरा समुदायको सूचना तथा सञ्चार पहुँच सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ । अब संसदमा हुने नीति तथा कार्यक्रम, बजेट, कानुन निर्माण, जस्ता राष्ट्रिय महत्वका विषय तथा समसामयिक छलफलहरूबारे बहिरा समुदाय प्रत्यक्ष रूपमा सुसूचित हुने वातावरण सिर्जना भएको छ ।

Image
Image

संघीय संसदका सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूले "सूचनाको हक सबै नागरिकको समान अधिकार हो, त्यसैले बहिरा समुदायले पनि संसदका गतिविधि र महत्वपूर्ण जानकारी प्राप्त गर्न पाउनुपर्छ" भन्दै समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएका सेवाहरूले संसदको कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

Image
Image

महासंघका अध्यक्ष सन्तोष के.सी.ले यो उपलब्धीलाई बहिरा समुदायको सूचना पाउने अधिकार कार्यान्वयन तर्फको ऐतिहासिक सफलता प्राप्त भएको उल्लेख गर्नुभयो । महासचिव सिताराम ओझाले संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ तथा संयुक्त राष्ट्रसंघीय महासन्धिको मर्मअनुसार सञ्चारको पहुँच सुनिश्चित गर्न गरिएको यो व्यवस्था प्रशंसनीय रहेको बताउनुभयो । महासंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख, संघीय संसद सचिवालय, नेपाल सरकार तथा सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप समावेशी सञ्चार पहुँचका लागि सहकार्यको अपेक्षा गरेको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्