श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूको दोस्रो अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपाल तथा साझेदार संस्थाहरूको सहकार्यमा मिति २०८३ असार १३ गते देशभर विभिन्न जनचेतनामूलक, समावेशी तथा अधिकारमुखी कार्यक्रमहरू सम्पन्न भएका थियो । उक्त दिवसले श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूको पहिचान, अधिकार, पहुँचयुक्त सेवा तथा समावेशी समाज निर्माणको महत्वलाई राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर प्रदान गरेको थियो । काठमाडौंमा बहिरा-दृष्टिविहीन अभिभावक समाजको नेतृत्वमा रत्नपार्कदेखि रानीपोखरीसम्म करिब २०० जनाको सहभागितामा जनचेतनामूलक र्याली आयोजना गरिएको थियो । कार्यक्रममा श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी सेवा (Personal Assistance Service) को आवश्यकता तथा कानुनी सुनिश्चितताका विषयमा आवाज उठाइएको थियो । कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार र प्रतिनिधिसभा सदस्य प्रेम वयकले आवश्यक कानुनी व्यवस्था गर्न सकारात्मक प्रतिबद्धता व्यक्त गरेका थिए ।

श्रवणदृष्टि विहिन अभिभावक समाज रुपन्देहीको आयोजनामा अभिभावकहरूले आफ्ना अनुभव र भोगाइहरू साझा गर्दै जनचेतनामूलक सडक र्याली कार्यक्रम गरेका थिए ।

धनगढीमा बहिरा संघ कैलालीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले समावेशी विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोग तथा रेडक्रसग्राम माध्यमिक विद्यालय र बालकुमारी माध्यमिक विद्यालय चितवनको आयोजनामा ३६ जना बालबालिकाको सहभागितामा समावेशी चित्रकला प्रतियोगिता तथा चकलेट दौड आयोजना गरिएको थियो । सबै सहभागी बालबालिकालाई समान रूपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको यस कार्यक्रमले अपाङ्गता भएका र नभएका बालबालिकाबीच सहकार्य, आत्मीयता तथा आपसी समझदारी अभिवृद्धि गर्न योगदान पुर्याएको थियो ।

त्यसैगरी, श्रवणदृष्टि विहिन अभिभावक समाज मोरङको आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा पनि चित्रकला प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

पोखरामा श्रवणदृष्टिविहीन संघ नेपालको नेतृत्वमा ९२ जना धावकको सहभागितामा जनचेतनामूलक दौड प्रतियोगिता सम्पन्न भएको थियो ।

यसै अवसरमा काठमाडौं विश्वविद्यालयमा श्रवणदृष्टिविहीनता विषयक नेपालको पहिलो शैक्षिक पाठ्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त शुभारम्भ कार्यक्रममा १६ जना प्रशिक्षार्थी सहभागी भएका थिए । जसले यस क्षेत्रमा दक्ष जनशक्ति विकास तथा अध्ययन-अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको थियो ।

देशका विभिन्न स्थानमा सम्पन्न यी कार्यक्रमहरूले श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूको अधिकार, सहभागिता र नेतृत्व प्रवर्द्धन गर्दै समावेशी समाज निर्माणप्रति राष्ट्रिय ऐक्यबद्धता र प्रतिबद्धतालाई थप सशक्त बनाएका छ । राष्ट्रिय बहिरा महासंघ नेपालले साझेदार संस्था, अभिभावक समूह, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह तथा अन्य सरोकारवालासँगको सहकार्यमा श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको छ ।