राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा श्रवणदृष्टि विहीन अभिभावक समाज, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल र नेत्रहीन युवा संघ नेपालको सहकार्यमा “यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा नागरिक समाजका संस्थासंग समन्वय बैठक” मिति २०८२ चैत्र ८ गते काठमाण्डौंमा सम्पन्न भएको थियो । बैठकमा नागरिक युवा, सिविन-नेपाल, United Nations Population Fund, Yuwa, Ypeer Nepal, HR Alliance Nepal, Yuwalaya, Visible Impact, Nepal Human Right Organization, Marie Stopes International Nepal, Forum for Women, Law and Development लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नागरिक समाजका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित ३२ जनाको सहभागिता रहेको कार्यक्रममा नागरिक संस्थाहरुबाट अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) का क्षेत्रमा भएका कार्यहरु, चुनौती, उपलब्धि, अपाङ्गता भएका समुदायमाथि हुने गरेका यौनजन्य हिंसा, मिथक, सुचना तथा संचारमा पहुँचको अभाव, कानुनी, नीतिगत र संरचनागत कमजोरी लगायतका बिषयमा छलफल गरिएको थियो ।

बैठकमा क्षमता विकास, डिजिटल पहुँच, अभिभावक सचेतना, नीतिगत तथा व्यवहारिक संयुक्त प्रयास अपरिहार्यता औल्याउदै भविष्यमा आपसी सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो । बैठकको समापनमा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष के. सी. ले नीतिगत संशोधनका लागि नियमित रूपमा संयुक्त वकालत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
