राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितीको आयोजना तथा माईराइटको सहयोगमा बहिरा महिलाहरुका लागि दुई दिने क्षमता विकास तालिम बर्दिबास, महोत्तरीमा मिति २०८३ असार १३ र १४ गते सम्पन्न भएको थियो ।

मधेश प्रदेशका ८ जिल्लाबाट ३२ जना बहिरा महिलाहरूको सहभागिता रहेको थियो । उक्त तालिममा बहिरा महिलाहरूलाई अधिकारको संरक्षण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, लैङ्गिक समानता, कानुनी अधिकार, सामाजिक समावेशीकरण विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागी महिलाहरूले दैनिक जीवनमा भोग्नुपरेका समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक सेवामा पहुँचका क्रममा सामना गर्नुपरेका चुनौतीबारे अनुभव आदानप्रदान गराउनुका साथै उनीहरूलाई समस्या समाधानका उपाय, संस्थागत समन्वय र नेतृत्व विकासका व्यावहारिक सीपबारे दिइएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिका प्रमुख प्रहलाद क्षेत्रीले बहिरा समुदायको लागि भवन निर्माणको लागि आवश्यक बजेट यसै वर्ष विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसिले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरेका अधिकार, स्थानीय सरकारबाट उपलब्ध सेवा-सुविधा, महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा समावेशी विकासका तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । बहिरा महिलाहरूले समाजमा अपाङ्गता र महिला गरि दोहोरो विभेदको सामना गर्नुपरेका महिलाहरुले तालिमले आफुहरुलाई आफ्नो हकअधिकारका लागि आवाज उठाउन, समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा आत्मनिर्भर बन्न यस कार्यक्रमले प्रेरणा क्षमता बिकास गरेको बताएका थिए ।