NDFN Logo

अपाङ्गता परिचयपत्र कसरी प्राप्त गर्ने?

सुनाईसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूले अपाङ्गता परिचयपत्र प्राप्त गर्ने तरिकाको बारेमा यस सामाग्रीमा जानकारी पाइन्छ।

अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन तथा राज्यद्वारा तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्गता परिचय पत्रको आवस्यकता पर्दछ । कुनै पनि उमेरका अपाङ्गता भएका सबै व्यक्तिले आफ्नो स्थानीय निकायबाट परिचय पत्र प्राप्त गर्न सक्नेछन् ।
परिचयपत्र वितरणका मापदण्ड
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा गम्भीर्यताको आधारमा चार समुहमा परिचयपत्र बर्गिकरण गरि वितरण गरिदै आएको छ ।
पुर्ण अशक्त अपाङ्गता
व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ ।
यो रातो रङ्गमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।
ख) अतिअशक्त अपाङ्गता
निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।
यो नीलो रङ्गमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।
ग) मध्यम अपाङ्गता
कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिट मुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह “ग” का अपाङ्गता वर्गमा पर्दछन् ।
यो पहेँलो रङ्गमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।
घ) सामान्य अपाङ्गता
शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरीऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू “घ” वर्गमा पर्दछन् ।
यो सेतो रङ्गमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।
अपाङ्गता परिचयपत्र बनाउन आवश्यक कागजात र बनाउने कार्यालय
१. वडा कर्यालयको सिफारिस
२. नगरपालिका वा गाँउपालिका कार्यालयमा परिचयपत्र पाउनको लागि निवेदन
३. स्वास्थ्य परीक्षण प्रमाण पत्र
४. सबै परीक्षण र कागजात पुरा भएपछी नगरपालिका वा गाउँपालिका कार्यालयले अपाङ्गता भएको हो कि होइन भनेर जाँच गरेपछी नियम अनुसार बहिरा व्यक्तिलाई निलो (मध्यम) प्रकारको परिचयपत्र दिन्छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्