NDFN Logo

कार्यात्मक मूल्याङ्कन तथा वैयक्तिक शैक्षिक योजना निर्माणसम्बन्धी तालिम सम्पन्न

Image

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकारका लागि सामूहिक कार्य (CADiR – Collective Action for Disability Rights) सहयोगमा ३ दिने कार्यात्मक मूल्याङ्कन तथा वैयक्तिक शैक्षिक योजना (IEP) तालिम मिति २०८३ साउन २५ देखि २७ गते भरतपुर, चितवनमा सम्पन्न भएको छ । उक्त तालिममा भरतपुर र कालिका नगरपालिकाका घरमा आधारित शिक्षक, स्रोत कक्षा शिक्षक तथा प्रारम्भिक बालविकास (ECD) शिक्षक गरी जम्मा ११ जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई बालबालिकामा प्रारम्भिक अपाङ्गता पहिचान तथा कार्यात्मक शैक्षिक मूल्याङ्कन गर्ने आवश्यक प्राविधिक सीप प्रदान गर्नु रहेको थियो । यसमार्फत बालबालिकाको सिकाइ क्षमता, कार्यात्मक आवश्यकता तथा आवश्यक सहयोगको पहिचान गर्न सकिने अपेक्षा गरिएको थियो । साथै, शिक्षकहरूलाई व्यवस्थित घरमा आधारित शिक्षा (Home-Based Education – HBE) तथा वैयक्तिक शैक्षिक योजना (IEP) निर्माण, कार्यान्वयन र अनुगमन गर्न सक्षम बनाउने उद्देश्य राखिएको थियो । तालिमका क्रममा प्रारम्भिक स्क्रिनिङ, कार्यात्मक मूल्याङ्कन, बालबालिकाको व्यक्तिगत आवश्यकता पहिचान तथा त्यसका आधारमा IEP तयार गर्ने प्रक्रियाका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक अभ्यास गराइएको थियो । साथै, बालबालिकाको शैक्षिक तथा समग्र विकासमा अभिभावकको भूमिकाका विषयमा समेत छलफल गरिएको थियो । तालिमबाट सहभागीहरूले प्रारम्भिक स्क्रिनिङ तथा कार्यात्मक मूल्याङ्कनमार्फत बालबालिकाको आवश्यकता पहिचान गर्ने र सोही आधारमा IEP निर्माण गर्ने सीप हासिल गरेका छन्, भने प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दा बालबालिकाको सिकाइ, सहभागिता तथा समग्र विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram