
राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकारका लागि सामूहिक कार्य (CADiR – Collective Action for Disability Rights) सहयोगमा ३ दिने अपाङ्गता र कार्यात्मक पहिचान सम्बन्धी तालिम मिति २०८३ साउन २५ देखि २७ गते चितवनको, भरतपुरमा सम्पन्न भएको छ । उक्त तालिममा भरतपुर र कालिका नगरपालिकाका घरमा आधारित शिक्षक, स्रोत कक्षा शिक्षक तथा प्रारम्भिक बालविकास (ECD) शिक्षक गरी जम्मा ११ जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई बालबालिकामा प्रारम्भिक चरणमा नै अपाङ्गता पहिचान तथा कार्यात्मक पहिचानका लागि आवश्यक प्राविधिक सीप प्रदान गर्नु रहेको थियो । तालिमबाट सहभागीहरूले प्रारम्भिक स्क्रिनिङ तथा कार्यात्मक मूल्याङ्कन मार्फत बालबालिकाको आवश्यकता पहिचान गर्ने र सोही आधारमा वैयक्तिक शैक्षिक योजना निर्माण गर्ने सीप हासिल गरेका छन् । यस तालिमले शिक्षकहरू तथा घरमा आधारित शिक्षा सहजकर्ताहरूलाइ बालबालिकाको सिकाइ क्षमता, कार्यात्मक क्षमता तथा आवश्यक सहयोगको पहिचान गर्न र उनीहरूको सिकाइलाइ अर्थपूर्ण, गुणस्तरिय र प्रभावकारी बनाउने अपेक्षा गरेको छ । तालिमका क्रममा प्रारम्भिक स्क्रिनिङ, अपाङ्गता, कार्यात्मक पहिचान, बालबालिकाको वैयक्तिक आवश्यकता पहिचान तथा त्यसका आधारमा IEP तयार गर्ने प्रक्रियाका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक अभ्यास गराइएको थियो । यस तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दा बालबालिकाको सिकाइ, सहभागिता तथा समग्र विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।