राष्ट्रिय बहिरा महासंघ नेपलाको नेतृत्वमा अम्प्लिफाईचेन्जको सहयोगमा संचालित Scope for SRHR परियोजना अन्तर्गत साझेदार संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ (FWDN) को आयोजनामा मिति २०८३ श्रावण ५ गते जनकपुरधाममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अपाङ्गता समावेशी यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, स्वास्थ्य सम्बन्धि निकाय तथा सरोकारवालाहरु गरि २२ जनाको सहभागिता रहेको बैठकमा अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, सार्वजनिक सेवा तथा सामाजिक सुरक्षामा भोगिरहेका चुनौती र अवरोधबारे छलफल गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरूको SRHR अधिकारबारे स्थानीय जनप्रतिनिधिको बुझाइ बढाउनु, स्थानीय नीति, योजना तथा बजेटमा अपाङ्गता समावेशी विषयलाई प्राथमिकता दिनु तथा स्थानीय सरकार, सरोकारवाला र अपाङ्गता भएका व्यक्तिहरूबीच सहकार्य र अर्थपूर्ण सहभागिता बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

बैठकमा परियोजनामार्फत गरिएको अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी आधारभूत सर्वेक्षणबाट प्राप्त पहुँचको अवस्था, मुख्य निष्कर्ष तथा सुझाव प्रस्तुत गरिएको थियो । जनकपुरधाममा अपाङ्गतामैत्री शौचालय, स्तनपान कक्ष, ज्येष्ठ नागरिक बिश्राम स्थल र सहायता कक्ष निर्माण गर्न महिला, बालबालिका तथा सामाजिक समावेशी शाखाले सिफारिस गरेको पनि जानकारी गराइएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुखले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले अपाङ्गतामैत्री पूर्वाधार, पहुँचयुक्त स्वास्थ्य सेवा, समावेशी योजना तथा बजेट र स्थानीय निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताका लागि सहकार्यमा जोड दिएका थिए ।