राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा एम्प्लिफाई चेन्जको सहयोगमा मिति २०८३ जेठ ११ गते काठमाडौँमा स्वास्थ्यसंग सम्बन्धित सरकारी निकायहरुसंग अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको SRHR सम्बन्धी पहुँच र अधिकारका लागी वकालत गर्न सरोकारवालाहरूबीच समान बुझाई बिकास गर्नु एवं सहकार्य गर्नु रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले हाल SRHR अधिकार पहुँचमा भोग्नुपरेको व्यवहारिक कठिनाई, कार्यान्वयनमा समस्या रहेको र स्वास्थ्य संस्थामा पहुँचयुक्त पूर्वाधार (र्याम्प, शौचालय), साङ्केतिक भाषा, ब्रेल सामग्रीको आवश्यकता र स्वास्थ्य सूचना प्रणाली (HMIS) मा अपाङ्गता खण्डीकृत तथ्याङ्कको आवश्यकता सम्बन्धमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका शाखा अधिकृत सर्मिला दाहाल पौडेलले नेपाल सरकारले 'कोही पनि नछुटुन्' भन्ने सिद्धान्त अन्तर्गत SRHR लाई आधारभूत स्वास्थ्य सेवामा प्राथमिकता दिएको कुरा बताउनु भएको थियो । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरुले SRHR मा पहुँच बढाउन आगामी दिनमा सरकारी निकाय, गैरसरकारी संस्था र अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू (OPDs) बीच सहकार्य गर्ने प्रतिवद्दता गर्नुभएको थियो ।
