राष्ट्रिय बहिरा महासंघ नेपालले चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा जटिल तथा बहु-अपाङ्गता भएका बालबालिकाका लागि घरमा आधारित शिक्षा, स्रोत कक्षा सञ्चालन, उपयुक्त अनुकुलनता, पोषण सहित स्वास्थ्यमा पहुचँका लागि सञ्चालन गरेको समावेशी शिक्षा परियोजनाको मुल्यांकनका लागि समाज कल्याण परिषदले गठन गरेको टोलीले मुल्यांकन भ्रमण सम्पन्न गरेको छ । मुल्यांकन टोलिले श्रवणदृष्टि विहीनता तथा बहु-अपाङ्गता भएका बालबालिकाको शिक्षा र स्वास्थ्यमा पहुँचमा परियोजनाको उपलब्धि लगायतका समग्र मुल्यांकन गरी प्रतिवेदन समाज कल्याण परिषदमा प्रतिवेदन पेस गरेको छ ।

उक्त मुल्यांकन प्रतिवेदनमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा संचालित २ वटा स्रोत कक्षा, कार्यात्मक मूल्यांकन केन्द्रहरू, जटिल प्रकारका अपांगता भएका बालबालिकालाई घरमा आधारित शिक्षा, स्वास्थ्य बीमा सेवा, शिक्षकलाई क्षमता अभिवृद्धि तालिम, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा हासिल भएका उपलब्धि समेटिएका छन् । परियोजनाले सम्बन्धित स्थानिय सरकारसँग मिलेर समावेशी शिक्षा रणनीति निर्माण गरी स्थानीय तहको बजेटमार्फत कार्यक्रमलाई संस्थागत गर्दै भविष्यका लागि बलियो र दिगो आधार तयार पारेको छ । उक्त परियोजना अपाङ्गता भएका बालबालिकाका लागि शिक्षामा पहुँच मात्र नभई उनीहरूको समग्र अधिकारमा पहुँच बढाउन उपलब्धिमुलक भएकोले स्थानीय तहबाट बजेट विनियोजन र नीतिगत सुधारमार्फत सामाजिक समावेशीकरणको उत्कृष्ट नमुनाका रूपमा रहेको छ।
