राष्ट्रिय बहिरा महासंघ नेपालले सञ्चालन गरेको ‘शिक्षामा सबैको सहकार्यः श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको अवरोध न्यूनीकरण’ परियोजनामाथि पोखरा महानगरपालिका परियोजना सल्लाहकार समितीको मुल्यांकन बैठक सामाजिक विकास महाशाखा पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरका उपप्रमुखको प्रमुख आतिथ्यता तथा शिक्षा एवं सामाजिक महाशाखा प्रमुखहरूको उपस्थितिमा परियोजना मुल्यांकन बैठक सम्पन्न भएको थियो । बैठकमा बहिरा महासंघले प्रस्तुत गरेको परियोजना अन्तर्गत श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूको शिक्षा सम्बन्धमा ३ वर्षसम्म संचालन गरेका क्रियाकलाप, हासिल भएका उपलब्धि, चुनौती, सरकारी निकायसंगको सहकार्य एवम् खर्च विवरणमाथि छलफल गरिएको थियो ।

परियोजनाले कास्कीमा श्रवणदृष्टि विहीन बालबालिकाका लागि स्रोत कक्षा स्थापना गरी सरकारलाई हस्तान्तरण गरेको छ । जहाँ स्थानीय सरकारले आया र थेरापिस्टको व्यवस्था गरेको थियो । साथै, छात्रवृत्ति, भवन निर्माण, सृजना बहिरा विद्यालयका शिक्षकहरुलाई समावेशि शिक्षा तथा बालबालिकालाई स्पर्श संचार र ह्याप्टिक संकेत तालिम, साथि शिक्षा, युथ क्याम्प र पहिलो अन्तर्राष्ट्रिय डेफब्लाइण्ड सम्मेलन समेत सफलतापूर्वक आयोजना गरिएको जानकारी गराइएको थियो । महानगरका तर्फबाट आगामी दिनमा अपाङ्गता क्षेत्रमा महानगरको प्राथमिकताका क्षेत्रहरुलाई समेटेर परियोजना संचालन गर्न एवम् सहकार्य गर्न सुझाव दिइएको थियो ।