NDFN Logo

समावेशी पर्यटन प्रवर्द्धनका लागि बहिरा व्यक्तिहरुलाइ बारिस्टा तालिम सुरु

Image

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको सहकार्यमा २० जना बहिरा युवाहरुलाई एक महिने बारिस्टा तालिम टिन टंङ क्याफे एन्ड ट्रेनिङ सेन्टर जमल, काठमाडौंमा मिति २०८३ भाद्र ८ गते शुभारम्भ गरिएको छ । बहिरा व्यक्तिहरूको व्यावसायिक सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्ने एवं पर्यटन तथा आतिथ्य क्षेत्रमा उनीहरूको समावेशी सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सन्चालन गरिएको हो । महासंघका अध्यक्ष सन्तोष के.सी.को सभापतित्व तथा दिगो पर्यटन परियोजनाका परियोजना व्यवस्थापक धर्मराज दवाडीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।

Image

तालिममा सहभागीहरूलाई कफी तथा अन्य पेय पदार्थ तयार गर्ने, कफी मेसिन तथा उपकरणको प्रयोग, सरसफाइ तथा स्वच्छता, ग्राहक सेवा र कार्यस्थलमा आवश्यक व्यावसायिक व्यवहारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक सिप  प्रदान गरिनेछ । उद्घाटन समारोहमा टिन टंङ क्याफे एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक विजय कटवालले आफूहरूले विगत १२ वर्षदेखि बारिस्टा तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै बहिरा युवालाई तालिम दिन पाउँदा खुसी व्यक्त गरेका थिए । दिगो पर्यटन परियोजनाका परियोजना व्यवस्थापक धर्मराज दवाडीले होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको सहभागिता न्यून रहेकाले सीमान्तकृत वर्ग र समुदायको सहभागिता बढाउने उद्देश्यले परियोजनाले काम गरिरहेको र होटेल रेस्टुरेन्टमा सिमान्तकृत समुदाय, महिला र अपाङ्गता भएका व्यक्तिको रोजगारी तथा भूमिका अभिबृद्दीमा तालिमले महत्वपुर्ण योगदान पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो |

Image

राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवालाई लक्षित गरेर दिगो पर्यटन र उद्यमशीलतालाई समावेशी बनाउने प्रयास स्वरूप तालिम आयोजना गरिएको र सहभागीलाई तालिमलाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नलिई सिप बिकास गरी प्रयोगमा ल्याउन र जीवन परिवर्तन गर्ने अवसरका रूपमा उपयोग गर्न सुझाव दिनुभएको छ । तालिमपछि सहभागीहरूलाई होटल, क्याफे, बेकरी तथा पर्यटन क्षेत्रमा रोजगारी वा स्वरोजगारका अवसरसँग जोड्ने र आर्थिक आत्मनिर्भरता र सामाजिक सम्मान अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

  • Bizpati बाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
  • समता प्रेसबाट साभार गरिएको समाचार यहाँ हेर्नुहोस् ।
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram