
भोटेकोशीमा आएको बाढीबाट प्रभावित बहिरा नागरिकहरूलाई बिभिन्न बहिरा संघ संस्थाहरु, सहयोगी मनहरुवाट प्राप्त आर्थिक सहयोगवाट राष्ट्रिय बहिरा महासंघ नेपालले राहत सहयोग उपलब्ध गराएको छ । मिति २०८३ भदौ १९ गते नुवाकोटका ६ जना र भदौ २१ गते रसुवाका ९ जना गरी जम्मा १५ जना बहिरा नागरिकलाई उनीहरूको आवश्यकताअनुसार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको थियो । राहत सहयोग अन्तर्गत टर्च लाइट, झुल, पावर बैंक, छाता तथा खाद्य सामग्री वितरण गरिएको थियो । साथै, ग्यास तथा औषधि खरिदका लागि नगद सहयोगसमेत उपलब्ध गराइएको थियो ।

राहत कार्यमा नुवाकोट बहिरा संघ र विदुर नगरपालिकासँग समन्वय गरी प्रभावित बहिरा नागरिकको आवश्यकता पहिचान, राहत वितरणमा आवश्यक सहजीकरण गरिएको थियो । विपद्का समयमा बहिरा नागरिकले पहुँचयोग्य सूचना, उद्धार, राहत तथा अत्यावश्यक सेवामा थप चुनौती सामना गर्नुपर्ने भएकाले आगामी दिनमा पनि विपद् व्यवस्थापनका सबै चरणमा बहिरा नागरिकको समावेशी तथा पहुँचयोग्य सहभागिता, सांकेतिक भाषाका दोभाषेको ब्यबस्था सुनिश्चित गर्न आवश्यक रहेको महासंघले जनाएको छ ।