
राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकारका लागि सामूहिक कार्य (CADiR - Collective Action for Disability Rights) को सहयोगमा ३ दिने पहुँचयुक्त शिक्षण सिकाइ सामग्री (Teaching-Learning Materials – TLMs) सम्बन्धी कार्यशाला मिति २०८३ भदौ १३ देखि १५ गते चितवनको भरतपुरमा सम्पन्न भएको छ । उक्त कार्यशालामा भरतपुर र कालिका नगरपालिकामा कार्यरत घरमा आधारित शिक्षक, स्रोत कक्षा शिक्षक तथा प्रारम्भिक बालविकास (ECD) शिक्षक गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । कार्यशालाको मुख्य उद्देश्य अपाङ्गता भएका विद्यार्थीका लागि समावेशी, पहुँचयोग्य, बहु-संवेदी र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ सामग्री विकास तथा प्रयोग गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यशालामा सिकाइको सर्वव्यापी ढाँचाको (Universal Design for Learning – UDL) अवधारणालाई आधार मानी कम लागतमा स्पर्शात्मक (Tactile) तथा दृश्य (Visual) शिक्षण सिकाइ सामग्री विकास तथा निर्माण गर्न सिकाइएको थियो । यस तालिमवाट शिक्षकहरूलाइ विद्यार्थीको रूचि, आवश्यकता तथा सिकाइ क्षमताअनुसार शिक्षण सिकाइ सामग्री निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिम कार्यक्रममा सहभागी शिक्षकहरुले कार्यशालाले विविध आवश्यकता भएका विद्यार्थीका लागि उपयोगी र पहुँचयुक्त शिक्षण सिकाइ सामग्री आफैँ निर्माण गर्न व्यावहारिक सिप र मार्गदर्शन प्रदान गरेको बताएका थिए । सहभागी शिक्षकहरुले कार्यशालाबाट प्राप्त ज्ञान तथा सीपलाई कक्षाकोठामा प्रयोगगरी विद्यार्थीहरुलाई प्रभावकारी ढंगले सिकाउने प्रतिवद्धता जनाएका छन् ।