
भरतपुर महानगरपालिका नगरसभाको १९ औ अधिवेशनको अवसरमा भरतपुर महानगरपालिकाले राष्ट्रिय बहिरा महासंघ नेपाललाई भरतपुर महानगरपालिका क्षेत्रभित्र जटिल तथा बहुअपाङ्गता भएका बालबालिकाहरुको लागि समाबेशी शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै मिति २०८३ असार १० गते प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्मानपत्र भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले राष्ट्रिय बहिरा महासंघ नेपालको तर्फबाट चितवन शाखाका परियोजना संयोजक उत्तम गुरुङलाई प्रदान गरेको थियो । भरतपुर महानगरपालिका क्षेत्रमा श्रवणदृष्टिविहीन तथा बहुअपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा प्रवर्द्धन गर्दै उनीहरूको शिक्षा प्राप्त गर्ने संवैधानिक तथा कानुनी अधिकार सुनिश्चित गर्न राष्ट्रिय बहिरा महासंघ नेपालले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । यस सम्मानले समावेशी शिक्षा प्रवर्द्धन तथा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्ने अभियानमा महासंघको निरन्तर प्रतिबद्धतालाई थप प्रोत्साहन प्रदान गरेको छ ।